Call Us: +977 63-440555

News & Events

थप पाँच जिल्लामा १५ शाखा विस्तार गर्दै

प्रधान कार्यालय वालिङ स्थित कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक समिक्षा गोष्ठी स्याङ्गजाको वालिङस्थित भेनस होटलमा तालिम सहित सम्पन्न गरेको छ । गोष्ठीमा बैंकका ४१ वटा शाखाका शाखा प्रबन्धकहरु अनुगमन सुपरभाइजर तथा विभागिय प्रमुखहरुबीच पहिलो त्रैमासिकमा भएका लक्ष्य प्रगति एवं आगामी त्रैमासिकको योजनाको विषयमा छलफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले जानकारी दिए ।

दश जिल्लामा ४१ वटा शाखा विस्तार गरेको बैंकलाई नेपाल राष्ट्र बैंकले पाँच वटा थप जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने स्वीकृति दिएको जानकारी कार्यक्रममा दिइयो । सोही अनुरुप, चालू आर्थिक वर्षमा नै उक्त पाँच जिल्लामा १५ वटा नयाँ शाखा विस्तार गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार, शाखा विस्तारका लागि सम्भाव्यता अध्ययनको कार्य सकिएको छ । 

संस्थाले पहिलो त्रैमासिकमा कुल लगानीमा बाँकी रहेको रकम करिब ९० करोड पुर्याएको छ भने करिब ३८ करोड निक्षेप संकलन गरेको छ । बैंकले यस आर्थिक वर्षमा कर्जा लगानी एक अर्ब ५० करोड पुर्याउने तथा ६५ करोड निक्षेप संकलन गर्ने लक्ष्य लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बोहराले जानकारी दिए । 

गोष्ठीमा योजना, अनुगमन तथा कर्जा जोखिम व्यवस्थापन विभाग प्रमुख खेमनारायण रेग्मीले धितो कर्जा निती, सुचना प्रविधि विभाग प्रमुख इन्जिनियर अनुप श्रेष्ठले सुचना प्रविधि, आन्तरिक लेखा परिक्षण विभाग प्रमुख निर्मल गौतमले लेखा सम्बन्धि कैफियतका असर तथा बैंकिङ नीति सम्बन्धि अद्यावधिक गतिविधिहरुको बारेमा जानकारी दिएका थिए । समिक्षा गोष्ठीको सहजिकरण अनुगमन सुपरभाइजरहरु कविता पोखरेल र राजेश श्रेष्ठले गरेका थिए ।

कार्तिक ९ गतेबाट ११ गतेसम्म सञ्चालन भएको समिक्षा गोष्ठी कार्यक्रममा सिनर्जीटेक कम्पनीका इन्जिनियर विकि शाक्य र सुशान्त श्रेष्ठले शाखा प्रबन्धकहरुलाई संस्थाले प्रयोग गरिरहेको एमफिन सफ्टवेयरको तालिम दिएका थिए ।

बैंकका संस्थापक अध्यक्ष चन्द्रबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंकका सञ्चालकद्धय सन्तोष श्रेष्ठ र बासुदेव पौडेलको सहभागिता रहेको थियो । 


Related News