कालिका लघुवित्तको अध्यक्षमा खाण सर्वसम्मत, नवौं साधारण सभा होटल भेनसमा शनिबार सम्पन्न
स्याङ्जाको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा वालिङ स्थित होटल भेनसमा संस्थाका अध्यक्ष वासुदेब पौडेलको अध्यक्षतामा शनिवार सम्पन्न भएको छ । सभाले संस्थाको आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रदिवेदनहरु उपर छलफल गरि सामान्य एवं विशेष प्रस्तावहरु पारित गरेको छ । स१चालक समितिले २०७५ आषाढ मसान्तको वासलात, नाफानोक्सान हिसाब तथा नगद प्रवाह सहितको वित्तीय विवरणहरु पास गरेको छ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता पुँजीको दश करोडको आठ प्रतिशतका दरले हुने बोनस शेयर तथा नगद लाभांश गरि कुल ८४,२१,०५३÷–मात्र बोनस शेयर तथा नगद लाभांश (कर प्रयोजन) पारित गरेको छ भने उक्त बोनस शेयर पश्चात कायम रहने चुक्ता पुँजीको पचहत्तर प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने र सोहि अनुसार जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव पारित गरेको छ । हकप्रद शेयर पश्चात संस्थाको चुक्ता पूँजी १८ करोड ९० लाख पुग्नेछ ।
सभाले आगामी चारवर्षको लागि संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरुको चयन गरेको छ । नवौं साधारण सभाले सञ्चालकमा नित्यानन्द तिवारी, सन्तोष श्रेष्ठ, कृष्णकाजी के.सी. र कृष्ण खाणलाई निर्विरोध निर्वाचित गरेको हो । निर्वाचन पश्चात सञ्चालक समितिको तर्फबाट आगामी कार्यकालको लागि सर्वसम्मत रुपमा कृष्ण खाणलाई अध्यक्ष पदमा चयन गरेको छ ।
नवौं साधारण सभाले संस्थाले स्थानीय, संघिय तथा केन्द्रिय सरकारसंग समन्वय गरि कर्जा सहयोग तथा अनुदान आदान प्रदान गर्न तथा संस्था एक वा एक भन्दा बढि उपयुक्त वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने तथा प्राप्ती गर्ने वा प्राप्तीहुन जाने प्रयोजनका लागि उपयुक्त वित्तीय संस्थाहरु पहिचान गर्ने एवं आवश्यक सम्पूर्ण प्रक्रियाको लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।
कालिका लघुवित्तले पौष मसान्त सम्ममा अधिराज्यका २५ जिल्लामा ७० वटा शाखा विस्तार सहित ३३ हजार सदस्यबाट ६० करोड निक्षेप संकलन गरि कुल १ अर्ब ५३ करोड लगानी गरेको छ ।