Office hours

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

मृतक कर्मचारीको परिवारलाई कालिकाद्वारा सात लाख सहयोग

मृतक कर्मचारीको परिवारलाई कालिकाद्वारा सात लाख सहयोग

स्याङ्जाको वालिङमा प्रधान कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमटेडले मृतक कर्मचारीको परिवारलाई सात लाख सहयोग गरेको छ ।

भोजपुरको हतुवागढी गाउँपालिका ६ स्थायी बसोबास भई बैंकको रुपन्देही जिल्लाको जोगीकुटी शाखामा शाखा प्रबन्धककोरुपमा कार्यरत रामजीत राईकी श्रीमति ज्ञानकुमारी राईलाई संस्थाका अध्यक्ष कृष्ण खाँणले सात लाखको चेक हस्तान्तरण गर्नुभएको हो । संस्थामा कार्यरत कर्मचारीलाई आपत विपत तथा घटनामा परी ज्यान गुमाएर आर्थिक सहयोग गरेको पहिलो पटक भएको संस्थाले जनाएको छ ।

“जोगीकुटी शाखामा शाखा प्रबन्धकको रुपमा कार्यरत रहेको दुई महिनामै घरबाट कार्यालय आउने क्रममा पूर्व पश्चिम राजमार्गको बर्दघाटमा सवारी दुर्घटनामा परी निधन भएको थियो” संस्थाका अध्यक्ष खाँणले भन्नुभयो, “संस्थाले एक ईमान्दार र कर्तब्यनिष्ठ कर्मचारी गुमाउँदा क्षति पुगेको छ भने घर परिवारलाई झनै ठुलो क्षति अनि पीडा थपिएकोले राहतस्वरुप घर परिवारलाई आर्थिक सहयोग गरेका हौं ।”

संस्थालाई बलियो बनाउने कर्मचारीको कामले नै हो उहाँहरुको मनोबल उच्च राखेर काम गर्न सकियो भने संस्था बलियो हुन्छ भने संस्थामा काम गर्ने कर्मचारीहरु एउटै परिवारका सदस्य भएको महशुस गर्दै संस्थाको दायित्व र कर्तब्य सम्झेर राहतस्वरुप आर्थिक सहयोग गरेको अध्यक्ष खाँणले बताउनुभयो ।

कालिका लघुवित्त वित्तीय संस्थाको गत फागुन १८ गते बसेको १६६ औं बैठकले मृतकको परिवारलाई सात लाख राहतस्वरुप रकम प्रदान गर्ने निर्णय गरेको संस्थाले जनाएको छ । मृतक राईको परिवारलाई यस अघि पनि संस्थामा कार्यरत कर्मचारीहरुले आर्थिक संकलन गरी एक लाख ७५ हजार सहयोग प्रदान गरिएको संस्थाका कार्यकारी अधिकृत मीन बोहोराले बताउनुभयो । “संस्थाको सञ्चालक समितिको बैठकले मृतककी श्रीमति ज्ञानकुमारी राईलाई कर्मचारीका रुपमा नियुक्ती दिएका छौं” कार्यकारी अधिकृत बोहोराले भन्नुभयो, “उहाँले अब चितवनको भण्डारा शाखामा कर्मचारीकोरुपमा काम थाल्नुहुनेछ ।”

“यसअघि कुनैपनि कर्मचारीलाई यसरी संस्थामार्फत सहयोग प्रदान गर्ने नीति बनेको रहेनछ” मृतककी श्रीमति ज्ञानकुमारी राईले भन्नुभयो, “संस्थाले राहतस्वरुप ठुलो रकम हाम्रो परिवारलाई उपलब्ध गराएको छ भने रोजगारीको अवसर पनि प्रदान गर्नुभएको छ जसप्रति धेरै आभारी छु ।” आफ्नो साढे ४ वर्षको छोरा रहेकाले उक्त रकमले छोराको शिक्षा दिक्षामा खर्च गर्ने योजना बनाएको ज्ञानकुमारी राईले बताउनुभयो । २०६७ भदौमा स्याङ्जाको वालिङमा स्थापना भएको कालिका लघुवित्त वित्तीय संस्थाको हाल २५ जिल्लामा ७० वटा शाखा रहेका छन् भने ३५ हजार सदस्य यसमा आबद्ध रहेका छन् । एक अर्ब ७० करोड लगानी रहेको बैंकको हाल ६५ करोड निक्षेप रहेको कार्यकारी अधिकृत बोहोराले बताउनुभयो । हालसम्म ३१५ जना कर्मचारी कार्यरत बैंकमा महिला कर्मचारी २०१ र पुरुष कर्मचारी ११४ जना रहेका छन् ।

Notice
Career
Check Mail
Staff Login
Back To Top