पर्बतको हातेमालोमा वार्षिक समिक्षा सहित कालिकाको केन्द्र प्रमुख गोष्ठी सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले पर्वत जिल्लाको पैंयु गाउँपालिका वडा नं. ४ स्थित शाखा कार्यालय हातेमालो चोकमा शनिबार केन्द्र प्रमुख उप प्रमुखहरुको वार्षिक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
हातेमालो बजारमा प्रभातफेरी सहित शुरु भएको कार्यक्रममा कर्मचारीहरुले कर्मचारी प्रतिज्ञा र सदस्यहरुले स्वावलम्बन गाना सहित शुरु गरेका थिए भने संस्थाका हातेमालो शाखा कार्यालयका शाखा प्रबन्धक चन्द्र प्रसाद बस्यालले उपस्थित अतिथि एवं सदस्यहरुलाई स्वागत गर्दै शाखाको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा सदस्यहरुलाई संस्थाको सेवा सुविधाको बारेमा तथा सदस्यहरुले उठाएका जिज्ञासाहरुको सहजिकरण कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठले गरेका थिए ।
संस्थाका सहायक प्रमुख कार्यकारी अधिकृत शिबराम जोशीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए । सञ्चालक कृष्णकाजी के.सी.ले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।
वर्तमान समयमा लघुवित्त वित्तीय संस्थाहरुको अवस्था र संस्थाको आगामी कार्यक्रमहरुको बारेमा प्रमुख कार्यकारी अधिकृत मिनबहाहदुर बोहराले प्रस्तुत पारेका थिए । प्रमुख कार्यकारी अधिकृत बोहराले संस्था र सदस्यहरु बिचको सम्बन्ध अझ राम्रो बनाउनको लागि कार्यक्रम गरिएको र यस आर्थिक वर्षमा ३१ वटा शाखाहरुमा गोष्ठी कार्यक्रम गर्ने योजना रहेको बताए ।
संस्थाका सञ्चालक समिति अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि कृष्ण खाँणले संस्था नाफामुखी भन्दा सदस्यमुखी भएर आगामी दिनमा अझ सदस्यहरुको लागि सेवा सुविधाहरु विस्तार गर्दै जाने बताउनु भयो । अध्यक्ष खाँणले तत्कालै गोष्ठीमा सदस्यहरुबाट आएका सुझावहरु कार्यान्वयन गर्न तथा नितिगत तहमा पनि कार्य गर्ने बताउँदै संस्थालाई यस अवस्था सम्म पुर्याउन सदस्यहरुले गर्नुभएको सहयोग र मायाको लागि आभार व्यक्त गरेका थिए ।
कार्यक्रममा विशेष अतिथिको रुपमा संस्थाका सञ्चालकहरु कृष्णकाजी के.सी., नित्यानन्द तिवारी, विश्वराज नेपाल र करुणा पोख्रेल, सूचना विभाग प्रमुख अनुप श्रेष्ठ लगायत केन्द्रिय कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
शाखामा सक्रिय रहेका ९५ वटा केन्द्रहरु मध्ये उत्कृष्ट चार वटा केन्द्रहरुलाई नगद पुरस्कार सहित पुरस्कृत गरिएको थियो भने संस्थालाई सहयोग गर्ने सदस्यहरुलाई सम्मान पत्र बाट सम्मानित गरेको थियो ।
केन्द्र नं. ८ दिपज्योती कालिका महिला विकास केन्द्रका केन्द्र प्रमुख दुर्गा देबी उपाध्याय को सभाध्यक्षतामा भएको कार्यक्रममा सभाध्यक्षले लघुवित्तले दिएको सेवा सुविधाको भरपुर उपयोग गर्न र आर्थिक रुपमा सवल बन्नको लागि आर्थिक दुरुपयोग नगर्न सल्लाह दिएका थिए । कार्यक्रम योजना तथा अनुगमन विभाग प्रमुख याम प्रसाद अर्यालले सञ्चालन गरेका थिए ।