वित्तीय साक्षरता सहित स्याङ्जाको दुई ठाउँमा कालिकाको केन्द्र प्रमुख गोष्ठी सम्पन्न

स्याङ्जामा प्रधान कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले स्याङ्जामै रहेका दुई वटा शाखा कार्यालयहरुमा केन्द्र प्रमुखहरुको गोष्ठी मंगलबार सम्पन्न गरेको छ । पुतलीबजार नगरपालिका वडा नं. ११ मा रहेको शाखा कार्यालय हेलुमा संस्थाको सञ्चालक समिति सदस्य नित्यानन्द तिवारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । ४२ वटा केन्द्रका प्रमुख तथा उप प्रमुखहरुको उपस्थिति रहेको कार्यक्रममा सदस्यहरु संगको अन्तरक्रिया कार्यक्रमको सहजिकरण संस्थाका योजना तथा अनुगमन विभाग प्रमुख याम प्रसाद अर्याल र कर्जा तथा जोखिम व्यवस्थापन विभागका प्रकाश बहादुर बोगटीले गरेका थिए । केन्द्र नं. ७ का प्रमुख भुवानी देबी ढकालको सभाध्यक्षतामा भएको कार्यक्रममा शाखा प्रमुख तारादेवी शर्माले शाखाको प्रगति विवरण सहित स्वागत गरेका थिए भने कार्यक्रमको उद्देश्य बारे सहायक प्रमुख कार्यकारी अधिकृतले प्रष्ट पारेका थिए । कार्यक्रममा आन्तरिक लेखा परिक्षण विभागका सोवित पौडेल लगायतको आतिथ्यता रहेको थियो ।
त्यसै गरि वालिङ नगरपालिका वडा नं. ८ स्थित होटल डेजीमा शाखा कार्यालय वालिङमा पनि वित्तीय साक्षरता सहित गोष्ठी सम्पन्न भएको छ । संस्थाका सञ्चालक समिति अध्यक्ष कृष्ण खाँणको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहरा, आरएमडिसी लघुवित्त वित्तीय संस्थाका आन्तरिक लेखा परिक्षण विभाग प्रमुख बासुदेव लामिछाने, सूचना तथा प्रविधि विभाग प्रमुख अनुप श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य दिंदै अतिथि बासुदेव लामिछानेले यो कार्यक्रम एउटा पर्व जस्तै भएको र सदस्य र संस्था बीचको सम्बन्धलाई मजबुत बनाउनको लागि राम्रो मौका रहेको बताए । प्रमुख अतिथि एवं संस्थाको अध्यक्ष कृष्ण खाँणले सदस्यहरुको आर्थिक, सामाजिक र बौद्धिक विकासको लागि संस्थाले कुनै कसर बाँकी नराख्ने र एक आपसमा हातेमालो गर्दै संस्थाको तर्फबाट हुन सक्ने सुविधाहरुको कमी नहुने बताए । प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले सदस्यहरुको क्षमता अभिबृद्धिको लागि सदस्यहरुकै माग अनुसारले विभिन्न सीपमुलक तालिमहरु, अवलोकन भ्रमणहरु लगायतका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर आगामी योजनाहरु बनाउँदै लैजाने बताए । वित्तीय अनुशासन, संस्थाका नयाँ नीती तथा ग्राहक संरक्षण कोष कार्यविधिको बारेमा जानकारी तथा अन्तरक्रिया कार्यक्रम तथा सदस्यहरुको सुझाव एवं गुनासोहरुको विषयमा कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठले सहजिकरण गरेका थिए ।
शाखा प्रमुख देबी तिवारीले शाखाको प्रगति विवरण एवं स्वागत गरेका थिए भने केन्द्र नं. ६१का प्रमुख धनकुमारी पाण्डे ले सभाध्यक्षता ग्रहण गरेका थिए समापनको क्रममा सभाध्यक्ष धनकुमारी पाण्डेले आर्थिक कारोवारमा सबै अनुशासित हुनुपर्ने र बजारमा धेरै संस्थाहरु रहेकोले त्यस विषयमा सदस्यहरु आफै चनाखो रहनु पर्ने बताए ।
दुबै कार्यक्रममा प्रमुख अतिथिहरुले दिप प्रज्वलन गरि उद्घाटन पश्चात कर्मचारीहरुले प्रतिज्ञा र सदस्यहरुले स्वावलम्बन गाना प्रस्तुत गरेका थिए । यस अघि २२ गते संस्थाले पर्वत जिल्लाको कुश्मा र कार्कीनेटामा एकै दिन गोष्ठी कार्यक्रम सकाएको थियो । ३१ वटा शाखामा गोष्ठीको योजना गरिएको कार्यक्रमहरुमा आरएमडिसी लघुवित्त वित्तीय संस्था सहयोगी संस्थाको रुपमा रहेको छ ।